चौतारा, फागुन ६ ।
सिन्धुपाल्चोक जुरे पहिरोपीडित राहतको रकम माग्दै माइतीघरमा धर्ना बस्ने भएका छन् ।
दाताले दिएको रकम सरकारले दिन चासो नदेखाएपछि पहिरो पीडित शनिबार माइतीघरमा धर्ना बस्न लागेको हुन् ।
बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारले पीडितहरूको नाममा जम्मा भएको रकम प्रदान गर्ने व्यवस्था नगरेपछि पहिरो चरणमा सरकारको विरोधमा धर्ना बस्न लागेको बताएका छन् ।
‘माइतीघरमा हुने धर्ना कुनै पनि राजनीतिक कार्यक्रम नभई जुरे पहिरो पीडितहरूको न्यायको पक्षमा भएको सबैमा जानकारी गराउँछौँ ।केन्द्रीय सरकारको विरुद्ध हुने यो सांकेतिक आन्दोलनपछि पीडितहरुले आफ्नो नाममा जम्मा भएको रकम नपाउँदासम्म गाउँपालिकाको तर्फबाटै निरन्तर आन्दोलनका कार्यक्रमहरु गर्ने समेत हामी सबैमा जानकारी गराउँदैछौ’ जारी विज्ञप्तिमा भनिएको छ।
पीडितको मागसहित गर्न लागिएको आन्दोलनमा सबै जिल्लाबासीहरु तथा खास गरी काठमाण्डौंमा बसोबास गर्ने आम सिन्धुवासी ऐक्यबद्धता जनाउन आह्वान समेत गरेको छ।
प्रधानमन्त्री, उपप्रधानमन्त्रील, गृृृहमन्त्री लगायत संघीय जनप्रतिनिधिहरूसँग पीडितहरूको नाममा संकलन भएको रकम वितरणको व्यवस्थाका लागि हामीले धेरै पटक आग्रह गर्दा समेत वेवास्ता गरेको गुनासो गरेका छन् ।
‘पीडितहरुले आफ्नो नाममा जम्मा भएको रकम पाउनका लागि धेरै पटक आन्दोलन समेत गरेका थिए। तर, पनि रकम वितरणको कुनै पहल भएन। पीडितहरूको नाममा जम्मा भएको रकम पीडितहरुलाई वितरण गर्नका लागि अब सशक्त आन्दोलन गर्नुको विकल्प देखिएन’ विज्ञप्तीमा भनिएको छ।