चौतारा, असोज १२ ।
काभ्रेको पनौती–५ मा रहेको एसओएस बालग्राममा रहेका लिदी पहिरो पीडित बालबालिकाको सपना पढेर डाक्टर बन्ने रहेको छ । आफ्नो अभिभावक, साथीभाई र बसोबास गरिरहेको ठाउँ गुमाउनुको पीडा बिर्सने प्रयासमा रहेका उनिहरुले भविष्यमा डाक्टर, प्रहरी, शिक्षक बनेर समाजसेवा गर्नेे लक्ष्य राखेका छन् ।
सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई सभामुख सापकोटाको पहलमा सो स्थानमा लगेर राखिएको थियो ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा अभिभावक गुमाएका ६ जना बालक र एक बालिकाको पालनपोषण, स्वास्थ्य र शिक्षाको जिम्मेवारी एसओएस बालग्राम काभ्रेले लिएको छ ।
पहिरो गएपछि अस्थाई टेन्टमा असुरक्षित रुपमा रहेका बालबालिकालाई खान बस्न नै समस्या भएपछि सभामुख अग्नीप्रसाद सापकोटा र वडा अध्यक्षसँगको समन्वयमा उनीहरुलाई लगिएको बालग्रामका निर्देशक सुरेन्द्र अमगाँइ बताउनुहुन्छ ।
लिदी पहिरोले ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको थियो भने दुई जना अझै बेपत्ता छन् ।