चौतारा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँचपोखरी थाङपाल गाउँपालिकाका छुट्टाछुट्टै आगलागीको घटनामा परेका ६ परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।
सो पार्टीले आइतबार गुन्सा र भोटेनाम्लाङका अग्निपीडितलाई रु दुई लाख ५३ हजार सहायता उपलब्ध गराएको हो ।
छ जनाकै परिवारका लागि पार्टीले प्रतिपरिवार रु ४२ हजार २०० का दरले नगद सहयोग गरिएको राप्रपाका जिल्ला सचिव नातिकाजी सापकोटाले जानकारी दिनुभयो ।
पार्टीका विभिन्न नेता तथा कार्यकर्ताबाट व्यक्तिगत रुपमा सङ्कलन गरिएको राहत वितरण गर्न पार्टीका केन्द्रीय सदस्य एवं पूर्वसांसद रमेश लामा, केन्द्रीय सदस्य उदय सापकोटा, जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ, जिल्ला सचिव नातिकाजी सापकोटालगायत नेताहरु पीडितको आश्रयस्थलमा नै पुगेका थिए ।
सोही आगलागीको घटनामा परेका ६ परिवारलाई नै युवा संघले समेत सहायता उपलब्ध गराएको छ ।
युवा संघले आइतबार नै भोटेनाम्लाङ र गुन्साका अग्नीपीडितलाई लता कपडा खाद्यान्य सिरक डस्ना ग्याँस सहित नगद छ हजार रुपैंयाका दरले सहायता उपलब्ध गराएको युवा संघ जिल्ला संयोजक सविन आचर्यले जानकारी दिनुभयो ।
सो सहायता बितरण कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य फईन्द्र तामाङ ,योगदान राणा मगर त्यस्तै ,हेमेश तामाङ,लोकमान तामाङ्,सानुबाबु गिरि,कृष्ण थिङ्ग,दिनेश श्रेष्ठ लगायतका राहत वितरण कार्यक्रममा उपस्थिति रहेको थियो ।
यस्तै आइतबार नै नेवा गुठी समाज भोटेनाम्लाङ्ले समेत आगलागी पीडितलाई नगद सहयोग गरेको छ ।
गुठीले पीडितलाई नगद ३३ हजार ६ सय ७१ रुपैंयाका दरले सहायता उपलब्ध गराएको नेवा गुठी समाज भोटेनाम्लाङ्का अधक्ष्य महेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
गत मङ्सिर ३ गते पाँचपोखरी थाङपाल गाउँपालिका–७ भोटेनाम्लाङमा माइला तामाङ, काइँला तामाङ र रामसीं तामाङको घर आगलागीमा परेर नष्ट भएको थियो भने मङ्सिर ४ गते सोही गाउँपालिका–५, गुन्सामा जेठा बोम्जनसहित उनका छोराहरु साङ्बो तामाङ र कान्छा तामाङको घरसमेत आगलागीमा परी नष्ट भएको थियो ।