चौतारा, माघ १७ ।
सिन्धुपाल्चोकमा नेकपा फुटको असर राम्रैसँग देखिन थालेको छ । तत्कालीन नेकपा माओवादी र एमालेबीच पार्टी एकता भएपछि सुस्ताएको नेकपा पार्टी विभाजनपछि नेकपा फुटको असर वडा तहसम्म पुगेको छ ।
शनिबार नेकपा सिन्धुपाल्चोकको दुवै समूहको भेटघाट कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।
जिल्लाका दाहाल नेपाल समूहले गोल्डेन लाइट पार्टी प्यालेस चावहिलमा सिन्धुपाल्चोक काठमाण्डौं सम्पर्क मञ्चको शनिबार भेला तथा प्रशिक्षण कार्यक्रम राखेको थिए । तर सोही कार्यक्रमलाई जुधाएर ओली समूहले पनि शनिबार नै सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रम एवान पार्टी प्यालेसमा तय गरि कार्यक्रम सम्पन्न गरेको छ ।
दाहाल नेपाल समूहले गोल्डेन लाइट पार्टी प्यालेस चावहिलमा गरेको कार्यक्रममा जिल्ला पूर्वमन्त्री शेरबहादुर तामाङ, अध्यक्ष झम्क नेपा, पूर्व सांसद सुवास कर्माचार्य, नेकपा केन्द्रीय सदस्य माधव सापकोटा, जिसस अध्यक्ष कृष्णगोपाल तामाङल गायतको सहभागिता थियो ।
यस्तै ओली समूहको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रम जिल्लाका युवा तथा खेलकुद मन्त्री दावा तामाङ, प्रदेस सभा सदस्य सरेश नेपाल, पूर्व अध्यक्ष हस्त पण्डित, ओली समूहका जिल्ला अध्यक्ष बालकृष्ण देउजा, उपाध्यक्ष, नेतृ डोल्मा तामाङ लगायत उपस्थित रहेका थिए ।
कार्यक्रममा दुवै पक्षले एकअर्कालाई आरोप प्रत्यारोप गरेका छन् । दुवै पक्षका नेताहरुले आफ्नै पूर्व सहकर्मी नेताहरुको सत्तोसराप समेत गरेका छन् ।
पछिल्लो समय जिल्लामा दुवै समूहका नेताहरु कार्यकर्ता भेटघाट र सभा सम्मेलनमा व्यस्त छन् । दाहाल नेपाल समूह विघटन गरेर ओलीले असंवैधानिक गरे भन्दै भाषण गरिरहेका छन् भने ओली समूहका नेताहरु निर्वाचनको तयारीमा लाग्न र जनतालाई प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर ठिक गर्नुभयो भन्दै भाषण गरिरहेका छन् ।