२० बैशाख, जुगल ।
सिन्धुपाल्चोकको जुगल गाँउपालिका वडा नं. ५ मा रहेको रत्नराज्य माद्यामिक विद्यालयको भवनमा ७० वेडको आइसोलेशन वार्ड बन्ने भएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणले जिल्लामा खतराको घण्टी बजाइरहेको बेलामा आज सोमबार बसेको जुगल र बलेफी गाउँपालिका बीचको बैठकले अक्सिजन सहितको २० वेड र ५० वेडको सामान्य गरि ७० वेडको आइसोलेशन वार्ड निर्माण हुन लागेको हो ।
सो आइसोलेशन केन्द्रमा कोभिड रेस्पोन्सका लागि २ जना मेडिकल अफिसर सहितको स्वास्थ्य टोली, अक्सिजन सिलिण्डर, आवश्यक औषधीहरुको समेत व्यवस्थापन हुनेछ ।
‘काठमाण्डौं लगाएत ठुला शहरका ठुला हस्पिटलहरूमा अव कोभिड उपचार कठिन हुदै गएको छ’, जुगल गाँउपालिकाका अध्यक्ष एवं गाँउपालिका राष्ट्रिय महासंघका समेत अध्यक्ष होमनारायण श्रेष्ठले भने —‘ यो विषम घडीमा जिल्ला स्थित संयन्त्र, अन्य पालिकाहरु र प्रदेश तथा संघीय संरचनासंग आवश्यक सहयोगका लागि अपिल गर्दछौं ।’
जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाई सहित बसेको सो बैठकले आइसोलेसन सेन्टर सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधी तयार गर्न एक कार्यसमिति समेत बनाएको छ ।
सोही समितिको सुझावका आधारमा दुइ स्थानीय तहका कार्यपालिका स्तरबाट निर्णय लिइ तत्काल अस्थायी आइसोलेसन सेन्टर सञ्चालन गर्ने योजना तय भएको हो ।