नवलपुर, बैशाख २५।
नेपालमा भित्रिएको कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता इन्द्रावती गाउँपालिकामा आज एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गाँउपालिकाले सबै कार्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरेको छ ।
गाँउपालिकाको कोरोना रोकथाम तथा व्यवस्थापन समितिको आज शनिबारको बैठकले एक सातासम्म इन्द्रावतीका सबै कार्यालय बन्द गर्ने देखि बाहिरबाट आएकाहरु अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।
गाउँपालिकामा कोरोना फैलन नदिन निषेधाज्ञा जारी गर्नेसमेत निर्णय गरेको छ । बैठकले ईन्द्रावती गाउँपालिकाको झ्याडी, कुन्चोक, नवलपुर, मेलम्ची सडक आसपासको क्षेत्र, नवलपुर, ज्यामीरेमाने, भिमटार, सिपाघाट सडक आसपासको क्षेत्रमा एक हप्ता अवधिको लागि निषेधाज्ञा जारी हुन जिल्ला प्रशासन कार्यालयमा सिफारिश गर्ने निर्णय समेत गरेको अध्यक्ष तामाङले जानकारी दिए ।
त्यस्तै बैठकले इन्द्रावती गाउँपालिका, वडा नं ७, सिपापोखरेमा रहेको सिडिसिएफको भवनमा निर्माण गरिएको आईसोलेसन कक्षलाई १३ बेड रहने गरी विस्तार गरि अक्सिजन सहितको थप ब्यवस्थित बनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए।