२८ बैशाख, चौतारा ।
सिन्धुपाल्चोकमा आज एकैदिन ३० जना कोरोना संक्रमण पुष्टि भएको छ ।
१ सय ४८ जनाको स्वाब परिक्षण गरिएकोमा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।
आज कोरोना संक्रमण हुनेमा मेलम्ची नगरपालिकाका १९ जनाको परिक्षणमा १८ जना,चौतारा सँगाचोकगढी नगरपालिका ११ का १ सय २ मध्ये ८ जनामा र जुगल १ बाँसखर्कको २७ जनाको परिक्षण गरिएकोमा ४ जना गरी कुल ३० जनामा कोभिड पुष्टि भएको स्वास्थ कार्यालयले जानकारी दिएको छ।
यस्तै आजै सिन्धुपाल्चोकमा कोरोना संक्रमणका कारण १ महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेलम्ची नगरपालिका १२ कि ७० वर्षीया महिला रहेकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि हिजो स्वाब नमुना संकलन गरिएको थियो ।
ती महिलाको हिजै राति मृत्यु भएको थियो । मृत्यु भएपछि उनका परिवार तथा आफन्तले दाहसंस्कार समेत गरिसकेका थिए ।
यो सँगै जिल्लामा हालसम्म दोस्रो लहरमा मात्रै ४४९ जना सक्रिय संक्रमित रहेका भएका छन् भने मृत्यु हुनेको कुल संख्या ६ पुगेको छ ।