चौतारा, असोज १३ ।
आदिवासी जनजाति महिला उत्थान केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ भित्र रहेका खानेपानीको मुहानहरूको संरक्षणमा चासो देखाएको छ ।
बदलिँदो जलवायु परिवर्तनको असरले खानेपानीको मुहानमा परेको असरलाई कम गर्न के गर्न सकिन्छ भन्ने विषयमा संस्थाले अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको हो ।
राष्ट्रिय आदिवासी जनजाति अपागं महिला सङ्घ नेपालसँगको समन्वय र सहकार्यमा आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजनामा बुधवार सम्पन्न सहभागितामूलक कार्य अनुसन्धान कार्यक्रम मार्फत चासो देखाएको हो ।
सो कार्यक्रममा चौतारा बजार आसपास भएका १३ वटा खानेपानीको मुहानबारे जानकार रहेका स्थानीयहरू मुहान संरक्षणको लागि छलफल तथा अन्तर्क्रिया गरेको हो ।
सो छलफलले आफ्नो समुदाय स्तरमा रहेका पानीको मुहान संरक्षण,व्यवस्थापनका लागि समुदाय आफै नै अघि बढ्दै आवश्यक सहयोग स्थानीय स्तरबाट गरिने निष्कर्ष निकालेको छ । मुहान संरक्षण समिति नभएको हुँदा मुहान अव्यवस्थित भएको निष्कर्ष समेत छलफलले निकालेको छ ।
आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोककी अध्यक्ष पानमाया तामाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नं. ५ का अध्यक्ष नरमान श्रेष्ठ, पत्रकार माहासंघका अध्यक्ष जिवन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सञ्चालन संस्थाकी कर्मचारी सुप्रिया श्रेष्ठले गरेकी थिइन् ।