चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेले आर्थिक वर्ष २०७९।८० को हालसम्म सम्पन्न गरेका गतिविधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
वडाका सम्पुर्ण सरोकारवाला र सेवाग्राहीको उपस्थिति रेहको कार्यक्रममा यस आर्थिक वर्षमा हालसम्म भएका गतिविधिहरुको सार्वजनिक सँगै आगामी वर्षको कार्यक्रमका विषयमा समेत छलफल भएको थियो ।
एक आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तहको गरेर करिव ५ करोड बाराबरको बिकास निर्माणको कार्य सम्पन्न गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विकासको हिसावले नगरपालिकाको अन्य वडाको तुलनामा अग्र स्थानमा रहेको उक्त वडाले सार्वजनिक सेवा सुविधामा समेत चुस्त रुपमा अगाडी बढाएको छ ।
नगर गौरवको योजनाको रुपमा रहेको निर्माणधिन कोल्ड स्टोरको निर्माण देखी सहिद पार्क, एकघर एक धाराको शुरुवात, वडाको सम्पुर्ण शाखा सडकहरुको स्तर उन्नती गरेको वडाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
वडाले अब टुक्रे योजना नबनाई सबै टोललाई समेटनेगरी ठुला योजनाहरु मात्रै बनाउनुपर्ने आवाज उठेको कार्यक्रममा आगामी आर्थिक वर्षमा टुक्रे योजनाहरुलाई प्राथमिकता नदिने वडा अध्यक्ष कुमार शर्माले प्रतिवद्धता समेत जाहेर गरेका छन् । ‘हामीले यस आर्थिक वर्षमा सबै टोल समेटनको लागि टुक्रे योजनाहरु अगाडी सारेका थियौँ यस वर्षमा यसबाट सिकाई भएको छ । यस वर्षको योजना बनाउदा दिगो विकासका लक्ष हासिल गर्नेगरी हामीले योजना बनाउछौँ, यस वर्ष समेटन नसकेका टोल अर्को वर्ष समेटने गरी तयारी गर्छौ तर बजेट छर्ने काम गर्दैनौँ’ वडाध्यक्ष शर्माले भने ।
विकासको हिसावले अगाडी रहेको यस वडामा अब सिपमुलक तालिम र जिवनस्तर उकास्ने खालका कार्यक्रमहरुको आगामी वर्षको बजेटमा समावेश गर्नुपर्ने माग समेत स्थानीयले गरेका छन् ।