चौतारा, माघ १६ ।
चौतारा साँगाचोकगढी नगरपालिका भित्र रहेका कला, साहित्य र संस्कृति नगरको गहना भएको नगरप्रमुख अमानसिं तामाङले बताएका छन् ।
शुक्रबार सिन्धु कला मन्दिरले आयोजना गरेको ३५ दिने संगीत कक्षा समापन समारोहलाई सम्बोधन गर्दै शुक्रबार नगरप्रमुख तामाङले कला, साहित्य र संस्कृतिलाई गहनाको रुपमा रहने भन्दै त्यसको संरक्षण सबै मिलेर गरिनुपर्ने बताए ।
‘हामीले यी चिजहरुलाई संरक्षण गर्न सकेनौं भने आफ्नो आमा बुबा बिर्सिएको सरह हुनेछ’, तामाङले भने– ‘संस्कृति बिर्सिए सारा कुरा हराउने भएका कारण देश निर्माणमा टेवा पु¥याउन कला, संस्कृतिको संरक्षणमा जुट्नु पर्दछ ।’
कला, साहित्यजस्ता महान कार्यमा लाग्ने मान्छेहरु कुलतमा फस्न नसक्ने बताउँदै यस्ता तालिम जिल्ला, प्रदेश, राष्ट्र र अन्र्तराष्ट्रसम्म पुग्नुपर्ने धारणा राखे ।
नगरपालिकाले सबै भाषा, धर्म, कला, संस्कृति जोगाउने काम गरेको भन्दै त्यसलाई जर्गेना गर्ने कार्यमा सबै एकजुट हुनुपर्ने बताए ।
यस्तै सोहि कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले साहित्य, संगीतको विकास विना समृद्धिको कल्पना गर्न नसकिने बताउँदै अबको जोड सांस्कृतिक चिन्तन विकास गर्नेमा लगाउनु पर्ने धारणा राखिन् । ‘हामी हाम्रो नगरलाई समृद्ध बनाउने प्रयासमा छौं’, उनले भनिन्– ‘त्यसको सुरुवात कला, साहित्य, संगीतको संरक्षणबाट गरिनेछ ।’
समारोहमा संगीत कक्षा सञ्चालनको लागि सहयोग पु¥याएको भन्दै चौतारा साँगाचोकगढी नगरपालिका र वडा नं. ५ लाई कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै पौष १ गतेबाट सञ्चालन भएको संगीत कक्षामा प्रशिक्षकको भूमिका निर्वाह गरेका एच.बी. सुनार र अरुण श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
३५ दिने संगीत कक्षामा सहभागि १७ प्रशिक्षाथीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सिन्धु कला मन्दिरको तर्फबाट गीत, नृत्य एवम् नाटक प्रदर्शन गरिएको थियो । समारोहकै बीच शब्द–सारथिको ७७औं सुन्ने सुनाउने शृङ्खला सञ्चालन गरिएको थियो ।