अर्जुन शर्मा, चौतारा, फागुन २० ।
चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित कालिकादेवी माविका व्यवस्थापन समिति अध्यक्ष रघुसिं तामाङ दीर्घ सेवा पदकबाट सम्मानित भएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाले शैक्षिक क्षेत्रको विकासमा योगदान दिए बापत उनलाई सम्मान गरिएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाले बिहीबार नवौँ नगर सभाको अवसरमा उनलाई शैक्षिक क्षेत्रको विकासमा योगदान गरे बापत दीर्घ सेवा पदकले सम्मानित गरेको हो ।
नगर प्रमुख अमान सिंह तामाङ, उपप्रमुख जानुका पराजुली, प्रमुख प्रशासकीय अधिकृत फडिन्द्र पौडेलले संयूक्त रुपमा अध्यक्ष तामाङलाई पदक, नगद ६ हजार रुपैयाँ र सम्मानपत्र द्धारा सम्मानित गरेका हुन् । तामाङलाई १५ तोलाको चाँदीबाट बनेको पदक दिइएको हो ।
४२ वर्षीय तामाङ १७ वर्षदेखि लगातार कालीका देवीको विद्यालय व्यवस्थापन समिति अध्यक्ष छन् । डेढ दशकभन्दा बढी समयदेखि विद्यालयको व्यवस्थापकीय नेतृत्वमा रही शैक्षिक क्षेत्रको विकासमा विशेष योगदान पु¥आए बापत नगरपालिकाले उनलाई दीर्घ सेवा पदक प्रदान गरेको हो ।
दुई वर्षदेखि सो विद्यालयमा कक्षा ११ र १२ को पठनपाठन हुँदै आएको छ । चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कानुन शंकायको पठनपाठन हुँदै आएको छ । कानुन शंकायमा पढाइ हुने कालिकादेवी जिल्लाकै पहिलो विद्यालय हो ।
व्यवस्थापन समितिका अध्यक्ष रघुसिंह तामाङले यही शैक्षिक वर्षदेखि निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेका छन् । उनले अंग्रेजी माध्यमको प्राथमिक तह कक्षा नर्सरीदेखि मावि तह कक्षा १२ सम्म कुनै पनि नाममा शुल्क नलिने घोषणा गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिको यस्तो महत्त्वपूर्ण घोषणापछि वडावासी हर्षित भएका छन् । विपन्न, असहाय र टुहुरा बालबालिकालाई निःशुल्क शिक्षाको अलावा शैक्षिक सामग्रीको सहायता प्रदान गरिने योजना पनि घोषणा भएको छ ।
सदरमुकाम चौताराबाट नजिकै रहेको यस विद्यालयमा कानुन विषयमा अध्यापन सुरु गरिएपछि जिल्लाका अन्य ठाउँबाट पनि विद्यार्थी आउन थालेका छन् । सम्पूर्ण रूपले निःशुल्क शिक्षा प्रदान घोषणा गर्ने जिल्लाको यो पहिलो विद्यालय हो ।