मेलम्ची, साउन १८ ।
मेलम्ची नगरपालिका वडा नं ११ स्थायी घर भई हाल अस्ट्रेलिया रहेका देवराज दुलालको सक्रियतामा संकलित रकम प्रभावितहरुलाई हस्तान्तरण गरिएको छ ।
एनआरएनए अस्ट्रेलिया सिड्नी, भिजन फर मोटिभेसन असपाली ग्रुप तथा नेपालीहरुबाट दुई लाख ७५ हजार संकलन गरी पठाइएको वितरणमा सहजीकरण गर्नुहुने चुडामणि दुलालले जानकारी दिए ।
एनआरएनएबाट नगरको राहत कोषमा यसअघि नै जम्मा गरिएको ८५ हजार र आज ५० हजार गरी एक लाख ३५ हजार प्रदान गरिएको छ भने बजार व्यवस्थापन समितिलाई ५० हजार र रेडियो मेलम्चीलाई २० हजार प्रदान गरिएको छ ।
सोमबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई चुडामणि दुलाल र योगप्रसाद दुलालले सहयोग राशिको चेक हस्तान्तरण गरे। प्रमुख अर्यालले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे ।
रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहयोग ग्रहण गर्दै रेडियोप्रति सद्भाव राख्ने सबैप्रति आभार प्रकट गरे ।
बाँकी रकम घर पूर्ण क्षति भएकालाई प्रदान गरिने पनि वितरण संयोजन गरिरहनुभएका चुडामणि दुलालले जानकारी दिए ।