चौतारा, फागुन ९ ।
सिन्धुपाल्चोकमा बाह्रविशे तामाङ सेवा सामाजले सोनाम ल्होछार आज भव्यताका साथ मनाइएको छ । २८५६ औं बर्ष पुरागरि २८५७ औ लाङ (गाई) बर्ष प्रराम्भ गरि गुरु रेक्र्पोछेको पुजाआजगरी वाङ लिई बाह्रविशे बजारमा नगरस्तरिय ल्होछार मनाइएको हो ।
अन्य बेलामा भन्दा ल्होसारका दिन घर–आँगन, चौतारा, गुम्बा, चैत्य–विहार आदिको सरसफाइ तथा बत्ती, ध्वजा–पताकाले गाँउनै सिंगारि आज विधिपुर्वक ल्होछार मनाएको समाजका शितल मोक्तानले बताए । प्रकृति र जीवजन्तुसँग सामीप्य राख्ने जीवन्त पर्व पनि हो सोनाम ल्होसार।
डम्फु, म्हेन्दोमाया, स्याब्रु, ताम्बा–कइतेन, रिमठिम आदिलाई साक्षात्कार हुने गरि आफ्नै मौलिक भेषभुषा गोइलो,मार म्हेन्दो लगाएर आज ल्होछार मनाएको उनले भने । ल्होछार अर्थात ल्हो भन्नाले साल अथवा सम्वत् अनि छार भन्नाले नयाँ भन्ने बुझाउँछ ।
ल्होछारमा तामाङ समुदायमा आफ्नै मौलिक डम्फू अनि सेलोको सुमधूर मिश्रण मनमोहक हुन्छ । नकारात्मक तत्वहरुलाई हटाउनका लागि, आशा जगाउने सकारात्मक तत्वहरु अनि शक्तिहरुलाई डाँक्नकालागि आजका दिन लामाहरुले तान्त्रिक विधी मुखौटा लगाएर र झाँक्री नृत्य पनि गरिने समाजका अध्यक्ष डिवि लामाले बताए ।
आजको कार्यक्रममा डम्फु तालमा खान्दोके र फापारे सेलो भाकामा घन्किरहेको छ भने चर्चित कालकार जयनन्द लामा,विशाल कल्तान,प्रितम तामाङ र अश्मान लोप्चनले सेलो प्रस्तुति पनि दिएका थिए ।
कार्यक्रम पुर्व कानुनमन्त्री शेरबाहादुर तामाङ,विशेष अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति र अतिथिमा बाह्रविशे नगरपालिकाका मियर निमफोन्जु शेर्पा,शुशिला पाख्रिन लगायतको आतिथ्यतामा कार्याक्रम भएको हो ।
वुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर वुद्धको पूजाआराधना गरि ल्होछारको संरक्षणगर्दै तामाङले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौं पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् ।